दफा
विवरण दाखिल गर्ने कर्तव्य

(१) प्रत्येक सालको आश्विन मसान्तसम्ममा यो ऐन वा प्रचलित नेपाल कानून बमोजिम घर जग्गा कर तिर्नुपर्ने कर्तव्य भएका व्यक्तिले आफू साधारणतः बसोबास गरेको इलाकाको कर अधिकृत छेउ आफ्नु घर जग्गाहरूको विवरण तोकिएको ढाँचामा दाखिल गर्नु गराउनु पर्छ ।

(क) साधारणतः नेपाल बाहिर……….. बसोबास गरेका व्यक्तिले त्यस्तो विवरण काठमाडौंको कर अधिकृत छेउ दाखिल गर्नु गराउनु पर्छ । कुनै करदाताले आफ्नो घर जग्गा भएको इलाकाको कर अधिकृत कहां आफ्नो घर जग्गाको विवरण पेश गरी आफूले तिर्नुपर्ने कर निर्धारण गराई सो कर त्यहीँ तिर्न चाहेमा सो बमोजिम गर्न सक्नेछ ।

(ख) यो ऐनबमोजिम घर जग्गाको तिर्नु पर्ने व्यक्ति नाबालक वा बौलाहा वा लाटालाटी भएमा निजको घर जग्गाको विवरण दाखिल गर्ने कर्तव्य निजको संरक्षकको हुनेछ ।

(ग) एकभन्दा बढी व्यक्तिहरूको स्वामित्वमा रहेको घर जग्गाको विवरण त्यस्तो संयुक्त स्वामित्व भएका व्यक्तिहरूमध्ये कुनै एक व्यक्तिले दाखिल गर्न सक्नेछ ।

(घ) एकभन्दा बढी शहरी क्षेत्रमा घर जग्गा हुने करदाताले पेश गर्नु पर्ने घर जग्गाको विवरणमा त्यस्तो करदाताले आफ्नो सबै घर जग्गाको फाँटवारी तथा आफूले अन्तिम कर निर्धारण गराउन चाहेको कर कार्यालयमा समेत खुलाउनु पर्नेछ ।

(२) उपदफा (१) अन्तर्गत दाखिल गर्नु गराउनु पर्ने विवरण कसैले दाखिल नगरे नगराएमा वा झुट्ठा विवरण दाखिल गरे गराएमा त्यस्तो व्यक्तिलाई कर अधिकृतको आदेशले ने.रू ५०००।– पाँचहजारसम्म जरिवाना हुन सक्नेछ ।

(३) यो ऐन वा प्रचलित ऐन बमोजिम कर लाग्ने घर जग्गा भएको भनी कुनै व्यक्ति उपर शंका लागेमा कर अधिकृतले त्यस्तो व्यक्तिलाई आफ्नु घर जग्गाको विवरण दाखिल गर्नु गराउनु भनी लिखित आदेश दिन सक्नेछ । सो आदेश पाएको मितिले १५ दिनभित्र आफ्नु घर जग्गाको विवरण तोकिएको ढाँचामा कर अधिकृत कहाँ दाखिल गर्नु गराउनु पर्दछ ।

तर माथि उल्लेख भएको म्यादभित्र पनि विवरण दाखिल गर्न गराउन नसक्ने व्यक्तिले कारण जनाई सो कुराको लिखित सूचना सो आदेशले तोकेको म्यादभित्र कर अधिकृतलाई दिनु पर्छ र सो कारण निजलाई विश्वासप्रद लागेमा निजले बढीमा एक महीनासम्मको थप म्याद दिन सक्नेछ ।

(४) उपदफा (३) अन्तर्गत दिइएको आदेश पालन नगर्ने व्यक्तिलाई कर अधिकृतले ने.रू.५००।– पाँच सयसम्म जरिवाना गर्न सक्नेछ वा आफ्नो घर जग्गा कुनै किसिमले हस्तान्तरण (ट्रान्सफर) गर्न नपाउनेगरी कर अधिकृतले रजिष्ट्रेशन रोक्का गर्न सक्नेछ ।